सुर्खेत, असोज ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको प्रभावकारी कार्यान्वयनबाट मात्रै नागरिकका अधिकारहरूको संरक्षण सम्भव हुने स्पष्ट गर्नुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार सुर्खेतमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानले प्रत्याभूति गरेका अधिकारहरू कार्यान्वयन गर्न तीनै तहका सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो । कार्यक्रम कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै कँडेलले मुलुकमा नयाँ संविधान जारी भएको एक दशक बितिसक्दा पनि नागरिकले संविधान प्रदत्त अधिकार पूरा रूपमा अनुभूति गर्न नसकेको भन्दै असन्तोष बढ्दो अवस्थामा रहेको उल्लेख गर्नुभयो । ‘राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनको परिणाम देखिन केही समय पक्कै लाग्छ,’ उहाँले भन्नुभयो, ‘नेपालले विकासको गतिमा बिस्तारै फड्को मारिरहेको छ, सबैको एकताबद्ध प्रयासमै मुलुकले विकासको मार्ग पहिल्याउन सक्छ ।’
संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको ऐतिहासिक दस्ताबेज भएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको माग राख्दै सडकमा उत्रिएका जेन–जी पुस्ताको प्रदर्शनपछि भएका आगजनी, हिंसा र लुटपाटका घटनाले मुलुकलाई गम्भीर सङ्कटतर्फ धकेल्ने खतरा उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार पछिल्ला गतिविधिले मुलुकलाई फेरि दशकौँ पछाडि धकेल्ने प्रयत्न गरिएको छ ।
उहाँले संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्थाजस्ता संविधानका महत्त्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतले भइरहेका असंवैधानिक तथा अराजक गतिविधिले सबैलाई चिन्तित बनाएको टिप्पणी गर्नुभयो ।
त्यस्तै, पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले पनि संविधान जोगाएर नागरिकका अधिकारहरूको रक्षा गर्न जेन–जी पुस्ताले उठाएका मागहरू सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि राजनीतिक दलहरूबिच आपसी एकता र सहकार्य अपरिहार्य भएको धारणा राख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्