जनता टाइम्स

३ आश्विन २०८२, शुक्रबार १७:३८

असोज २६ सम्म पूरा हुनुपर्ने रामेछाप वृहत खानेपानी योजनाकाे काम अझै ५० प्रतिशतमै सिमित


रामेछाप, असाेज ३ । रामेछाप जिल्लाको गौरवपूर्ण योजनामध्ये एक मानिएको ‘रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना’ तोकिएको समयमा सम्पन्न नहुँदा अलपत्र परेको छ । आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीका कारण योजना निर्धारित लक्ष्यसम्म पुग्न नसकेको गुनासो उपभोक्ताले गरेका छन् ।

२०७८ असारमा सम्झौता भई तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने यो खानेपानी योजनाकाे काम अझै ५० प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौताअनुसार २०८१ असारमै सम्पन्न हुनुपर्ने योजना ढिलाइ भई असोज २६ गतेसम्म काम सक्नेगरी म्याद थपिए पनि निर्माण कम्पनीले पर्याप्त चासो नदेखाएको स्थानीयले बताएका छन् ।

मन्थली नगरपालिकाको वडा नं ५ सुनारपानी, वडा नं ४ सालु तथा रामेछाप नगरपालिका वडा नं २ को देरालीसम्मका २ हजार ७ सय घरपरिवारलाई खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले आयोजना सञ्चालनमा ल्याइएको हो । तामाकोसी नदीबाट पानी पम्प गरी वितरण गर्ने जिम्मा शर्मा सगुन जेभीले पाएको थियो ।

संघीय खानेपानी मन्त्रालयअन्तर्गतको विभागमार्फत ६१ करोड ४९ लाख रुपैयाँमा सम्पन्न हुने भनिएको यस योजनामा स्थानीय उपभोक्ताले चार वर्षअघि नै १ प्रतिशत लागत शेयर बुझाइसकेका छन् । तर, हालसम्म प्रगति अपेक्षित स्तरमा पुग्न सकेको छैन ।

स्थानीय बासिन्दाले गाडिएका पाइप खिया लागेर प्रयोगयोग्य नबनेको र अन्य संरचना अस्तव्यस्त रहेको गुनासो गरेका छन् । मन्थली नगरपालिका–५ का वडाध्यक्ष रवीन कार्कीले खानेपानी जस्तो संवेदनशील विषयमा समेत कार्यालय र निर्माण कम्पनीले लापरबाही गरेको बताउनुभयो ।

त्यस्तै, स्थानीय ध्रुव सुवेदीले योजना सुरु हुँदा खुशी भए पनि काम समयमा नसकिँदा निराशा बढेको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल निकास कार्यालय रामेछापका प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार आयाेजनाकाे हालसम्म करिब ५५ प्रतिशत भौतिक र ५० प्रतिशत आर्थिक प्रगति भएको छ । उहाँका अनुसार निर्माण कम्पनीले कात्तिक ३० गतेभित्र केही स्टेजमा पानी आपूर्ति सुरु गर्ने र फागुनसम्म सम्पूर्ण काम सम्पन्न गर्ने आश्वासन दिएको भए पनि त्यसको आधार कार्यालयसँग स्पष्ट छैन ।