रामेछाप, असोज ५ । मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा सुरु गरिएको छ । एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्ने र एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण गर्न साे सेवा सुरु गरिएकाे अस्पतालले जनाएकाे छ ।
आइतबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा उक्त सेवाको उद्घाटन गर्नुभयाे । उहाँले अस्पतालको निरन्तर सेवा विस्तारलाई प्रशंसनीय काम भएकाे बताउनुभयाे । उहाँले भन्नुभयो, ‘अस्पतालमा जनशक्ति लगायतका चुनौती भए पनि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन हामी निरन्तर प्रयत्नशील छौँ, देखिएका कमजोरीलाई सुधार गर्दै अस्पताललाई अझ सक्षम र विश्वासिलो बनाउनुपर्नेछ ।’
अस्पताल प्रमुख डा. केशव धामीका अनुसार नयाँ सेवा सुरु भएपछि सङ्क्रमणको सही पहिचान गर्न सजिलो हुने र बिरामीलाई उपयुक्त एन्टिबायोटिक उपचार दिन सहज हुने अपेक्षा गरिएको छ । उहााले अनावश्यक औषधि प्रयोगमा रोक लगाउँदै भविष्यमा औषधि प्रतिरोधी रोग नियन्त्रणमा पनि यो सेवा महत्त्वपूर्ण हुने बताउनुभयाे । ‘अब रामेछापका बिरामीलाई कल्चर सेवाका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता घट्नेछ,’ डा. धामीले भन्नुभयाे।
मन्थली अस्पतालबाट रामेछापसहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुलीका सेवाग्राही लाभान्वित भइरहेका छन् । हाल अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्