काठमाडौं, असोज १२। पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले २०८२ सालको विजया दशमीको पावन अवसरमा नेपाली जनताप्रति शुभकामना सन्देश दिनुभएको छ।
आइतबार निर्मल निवास, महाराजगञ्जबाट जारी गर्नुभएको शुभकामना सन्देशमार्फत नेपालभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति उहाँले सुख, शान्ति र समृद्धिको शुभेच्छा व्यक्त गर्नुभएको हो।
उहाँले दशैँलाई केवल पारिवारिक मिलन र धार्मिक आस्थाको पर्व मात्र नभई राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको प्रतीकका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ। ‘हाम्रा पूर्वजहरूले नेपालको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न दिएका बलिदान नै हाम्रो गौरवशाली संस्कृतिको मेरुदण्ड हो,’ शुभकामना सन्देशमा उल्लेख छ।
उहाँले वर्तमान राष्ट्रको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै नयाँ पुस्ताको आकाङ्क्षा, आधुनिक प्रविधि र वैज्ञानिक सोचलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ हुन्, उनीहरूको देशभक्तिको भावना, ऊर्जा शक्ति र नवीन सोचले मात्र नेपाललाई बलियो र आत्मनिर्भर बनाउनेछ,’ उहाँले भन्नुभएको छ।
पूर्वराजाले हाल देश चरम विध्वंस र शोकको अवस्थामा रहेको उल्लेख गर्दै यस वर्ष पारिवारिक र सांस्कृतिक रूपमा मात्र दशैँ मनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो। विगतमा झैँ यस पटक बृहत्तर रूपमा टीका जमरा प्रदान गर्न नसकिने जानकारी पनि उहाँले दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्