जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार २०:५९

राष्ट्रिय युवा संघ नेपालले एमाले अध्यक्ष केपी ओलीको तेह्रथुमस्थित जन्मघर पुनर्निर्माण गर्ने 


काठमाडौं, कात्तिक २२ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित जन्मघर पुनर्निर्माण गर्ने निर्णय गरेको छ।

जेनजी आन्दोलनकाे नाममा आगजनी गरी क्षति पुगेको सो घर पुनर्निर्माण अभियान पार्टी अध्यक्षप्रति एकता र सम्मानको प्रतीकका रूपमा अघि बढाइने भएको हो। शनिबार काठमाडौंमा बसेको राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

संघका प्रवक्ता निरोज पौडेलका अनुसार पुनर्निर्माण अभियान तेह्रथुमको आठराई गाउँबाट औपचारिक रूपमा सुरु गरिनेछ। प्रवक्ता पौडेलले भन्नुभयो, ‘यो अभियान अध्यक्ष ओलीप्रतिको श्रद्धा, एकता र संगठनात्मक जिम्मेवारीको प्रतीक हो। देश र पार्टीप्रति उहाँको योगदानलाई सम्मान गर्ने उद्देश्यले यो अभियान थालिएको हो।’

बैठकले आन्दोलनको नाममा देशभर भएका आगजनी, तोडफोड र राज्य सम्पत्तिमाथि भएका आक्रमणको तीव्र निन्दा गर्दै त्यसमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। ‘जेनजी आन्दोलनका नाममा अराजकता फैलाउनेलाई कानुनी कठघरामा ल्याइनेछ, तर राष्ट्र निर्माणका भावनायुक्त युवाहरूलाई सहकार्यमा ल्याइनेछ’, उहाँले भन्नुभयो ।

बैठकमा संगठनका अध्यक्ष क्षितिज थेबेको अध्यक्षता थियो। कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा संगठनका इञ्चार्ज राजीव पहारीलगायतको आतिथ्यता रहेको थियो।

बैठकले आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउन, युवाहरूमाझ सकारात्मक ऊर्जा जगाउन र राष्ट्रिय पुनर्निर्माण अभियानलाई जनस्तरमा पुर्‍याउने रणनीतिसमेत तय गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।