जनता टाइम्स

२८ बैशाख २०७६, शनिबार ०८:५१

हो ची मिन्हको देश पुगेर प्रधानमन्त्रीले भन्नुभयो –उहा अभिप्रेरणाको स्रोत हो


प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको, सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा उहाँले समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको बताउनुभएको छ । उहाँले होको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि अभिप्रेरणाको स्रोत भएको पनि बताउनुभएको छ ।

समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक मञ्चलाई आज सम्बोधन गर्दै आफू होबाट बाल्यकालदेखि नै प्रभावित भएको बताउनुभयो । उहाँले होलाई नेपालमा पनि सम्मानका रूपमा हेरिने गरिएको र उहाँको सम्मानमा अनेकौँ कविता, निबन्ध र गीत लेखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हो असाधारण नेता भएको र उहाँले इतिहास परिवर्तन गर्दै आफ्ना जनता तथा मुलुकलाई गौरवान्वित बनाएको र विश्वलाई समाजवादी आन्दोलनको नयाँ दिशा र आयाम दिएको बताउनुभयो । उहाँ राष्ट्रिय बल तथा साहसको प्रतीक भएको, उहाँले जनताको निःसर्त समर्थन प्राप्त गरी विश्वको सबैभन्दा बलियो सेनालाई पराजित गर्न त्यसलाई उपयोग गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै उपनिवेश नभएको र यसले आफ्नो सार्वभौमसत्ता तथा स्वतन्त्रता संरक्षण गर्न सङ्घर्ष गरेको बताउनुभयो । यसै कारण दुई मुलुकका जनताबीच एकता तथा मित्रता बलियो भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भियतनामको वर्तमान इतिहासले एउटा युद्धग्रस्त मुलुकले आफूलाई कसरी पुनर्निर्माण गर्छ भन्ने देखाएको र नेपालमा पनि युद्धपछिको अवस्थामा पुनर्निर्माणको चुनौती रहेको बताउनुभयो । उहाँले भियतनाममा माक्र्सवादको मौलिक उपयोगले नेपाली जनतालाई आफ्नो मुलुकले भोगेका अनेकौँ चुनौतीकोे उपयुक्त दिगो समाधान खोज्न अभिप्रेरणा दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले माक्र्सवाद तथा समाजवादको सिर्जनात्मक उपयोगबाट दुवै मुलुकले सामान्तवादी राजतन्त्र अन्त्य गर्न सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले भियतनाममा झैँ नेपालमा पनि माक्र्सवादको विचारधारालाई स्थानीय परिस्थितिमा उपयोग गरी समाजवाद निर्माण चाहेको बताउनुभयो र समाजवादको खोजी नेपाली संविधानको लक्ष्य भएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनाम दुवैले क्रान्तिकारी परिवर्तन शान्तिपूर्ण तरिकाले सम्भव भएको देखाएको पनि उल्लेख गर्नुभयो । उहाँले समाजवादले नै विश्वको वर्तमान समस्याको सही समाधान दिने र एक्काइसौँ शताब्दीको समाजवाद नयाँ आयाम अपनाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनले समस्या भोगेको र नेपालमा मदन भण्डारीले राजनीतिक अधिकारका लागि प्रजातान्त्रिक आन्दोलन र स्वतन्त्रताका लागि नयाँ दिशा दिएको बताउनुभयो । उहाँले भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त माक्र्सवादी दर्शनभित्रै प्रस्तुत गर्नुभएको र यसबाट परिवर्तित परिस्थितिमा दिशा दिनुभएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले यसै विचारधारालाई अवलम्बन गरी बहुदलीय प्रतिस्पर्धाबाट संवैधानिक संरचनामा मौलिक अधिकार तथा स्वतन्त्रता प्राप्त गर्न सकिएको बताउनुभयो । उहाँले कहिलेकाहीँ यसलाई पूँजीवादी प्रणालीसँग भ्रममा पर्न गए पनि त्यो कुरा सत्य नभएको विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिस्पर्धाको मूल्य तथा जनताको प्रजातन्त्र नेपाली जनताले लामो समयसम्म गरेको राजनीतिक सङ्घर्षबाट प्राप्त गरेको बताउनुभयो । उहाँले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको पहिलो नारा ‘जनताको नागरिक अधिकार स्थापना गर’ भन्ने भएको बताउनुभयो ।

“आरम्भका दिनमा नेपाली राजनीति राष्ट्रवादी र मुलुकको एकीकरणका लागि सङ्घर्षका रूपमा शुरु भयो । त्यसपछि यो आन्दोलन बेलायती सम्राज्यवादको विरोध तथा सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताको संरक्षणका लागि भयो र पछि यो समाजका विभिन्न प्रकारका विभेदविरुद्ध मानवीय सङ्घर्ष भयो”, प्राधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले गत महीना नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइएको बताउनुभयो र सन् २०१५ मा स्थापना भएको संविधानले प्रजातन्त्र, समावेशिता तथा मानवीय नीतिका सबै गुण समेटेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सन् २०१७ मा भएको निर्वाचनपछि जनताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि जनादेश दिएको र नेपाल कम्युनिष्ट पार्टीसँग संसद्मा दुई तिहाइ बहुमत भएको बताउनुभयो । उहाँले वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको चाहनालाई अगाडि बढाएको बताउनुभयो । प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका अध्यक्ष न्युऐन सुआन थाङले स्वागत गर्नुभएको थियो ।