जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १५:५५

पानीपुरी बेच्ने जैसवाल बने करोडपति क्रिकेटर


काठमाडौं, पुस ४ । मुम्बईका युवा क्रिकेटर यशस्वी जैसवाल २ करोड ४० लाख भारुमा बिकेका छन । आइपिएल २०२० को सिजनका लागि जैसवाललाई राजस्थान रोयल्सले २.४० करोड भारुमा आबद्ध गरेको हो ।

बिहीबार भएको अक्सनमा जैसवाललाई भित्र्याउन अन्य टिमले पनि इच्छा देखाएका थिए । २० लाख भारु न्यूनतम मूल्य भएका जैसवाललाई सुरूमा किंग्स इलावेन पञ्जावले ८० लाख भारुको प्रस्ताव गर्यो । त्यसलगत्तै कोलकता नाइट राइडर्सले जैसवाललाई १.९० करोड भारु दिने बोली लगाएको थियो । कोलकतापछि राजस्थान रोयल्सले २ करोड भारुको प्रस्ताव गरेको थियो । अन्तिममा राजस्थान रोयल्सले २.४० करोड भारुमा उनलाई आवद्ध गरेको हो । मुम्बईका ब्याट्सम्यान यशस्वी जैसवालले प्रतिष्ठित विजय हजारे ट्रफीमा दोहोरो शतक प्रहार गरेका थिए । उनले झारखण्डविरुद्धको समूह चरणको खेलमा १५४ बलमा २०३ रन बनाएका थिए ।

उत्तर प्रदेशको भदोहीमा जन्मिएका यशस्वीले संघर्षपूर्ण यात्राबाट क्रिकेटमा प्रवेश गरेका हुन । सन् २०१२ मा उनी क्रिकेट बन्ने लक्ष्य लिएर मुम्बई पुगेका थिए । त्यतिबेला ११ वर्षका उनी आफ्ना काकासँग बस्थे । आर्थिक अवस्था सहज नभएपछि उनले दिउँसो डेरीमा काम गरेका थिए भने रातको समय उनी पानीपुरी बच्ने गर्थे । संघर्षबाट क्रिकेटर बनेका उनी लिस्ट एको खेलमा कम उमेरमा दोहोरो शतक प्रहार गर्ने क्रिकेटर हुन । उनले १७ वर्ष २९२ दिन उमेरमा दोहोरो शतक प्रहार गरेका थिए । यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका एलन बेरोकको नाममा थियो । उनले १९७५ मा २० वर्ष २७३ दिनमा लिस्ट एमा दोहोरो शतक (२०२८) बनाएका थिए ।

२००१ मा जन्मिएका जैसवालले दोहोरो शतक प्रहार गर्ने क्रममा १७ चौका र १२ छक्का हिर्काएका थिए । जैसवालले लिस्ट एको पाँच इनिङमा ५०४ रन (४४, ११३, २२,१२२ र २०३) बनाइसकेका छन । आइपिएलको यो बोलीसँगै पानीपुरी बेच्ने उनी करोडपति क्रिकेटर बनेका छन ।