काठमाडौं, भदौ ४। नेपालमा पछिल्लो समय एलपी ग्यासको आपूर्ति बढाइए पनि बजारमा अभावको समस्या भने कायमै रहेको छ।
नेपाल आयल निगमका अनुसार गत साउन महिनामा पछिल्लो पाँच महिनामध्येकै सबैभन्दा बढी ५७ हजार ३ सय १६ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३ सय ६४ थान ग्यास सिलिन्डर बिक्री वितरण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार गत असारमा ४४ हजार ५ सय ४४ मेट्रिक टन, जेठमा ३२ हजार ८ सय ४२ मेट्रिक टन, वैशाखमा ३२ हजार ५६ मेट्रिक टन र चैतमा ३८ हजार ७ सय ९९ मेट्रिक टन ग्यास आयात भएको थियो।
असारको तुलनामा साउनमा करिब ९ लाख थान बढी ग्यास सिलिन्डर बिक्री भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभएको छ।
आयात र बिक्री दुवै बढेको तथ्यांक सार्वजनिक भए पनि विभिन्न क्षेत्रमा ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ताले अझै अभाव र लाइनको समस्या झेलिरहेका छन्। सरकारले आपूर्ति व्यवस्थापनमा सुधारका लागि पहल गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्