जनकपुरधाम । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बालिकालाई चकलेटको प्रलोभन देखाएर घटनास्थलमा लगिएको र जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको छ ।
साउन ३१ गते बिहान घरबाट हराएकी बालिकाको शव साउन २ गते साँझ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा फेला परेको थियो । शव भेटिएपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
अनुसन्धानका क्रममा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर घटनास्थलसम्म लगेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मंगलबार साँझ प्रहरीले तालिमप्राप्त कुकुरसहित घटनास्थलमा खोजी अभियान चलाएको थियो । त्यसक्रममा सहचालक थापा पनि प्रहरीलाई शव खोज्न सहयोग गरिरहेका थिए । तर तालिमप्राप्त कुकुरले थापातर्फ संकेत गरेपछि प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार थापाले बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरेको स्वीकार गरेका छन् ।
घटनामा म्याजिक चालकको समेत संलग्नता देखिएपछि जितपुरसिमरा उपमहानगरपालिका–१ का २४ वर्षीय प्रमोद चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनाविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप प्रमाण संकलन तथा अनुसन्धानका लागि नेपाल प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्