बाजुरा, भदौ ५ । बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन् भने थप २० परिवार उच्च जोखिममा परेका छन् ।
बिहीबार दिउँसो अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घर पूर्ण रूपमा पुरिएको वडाध्यक्ष गोरखबहादुर बोहराले जानकारी दिनुभयो । पहिरोमा घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, धनमाल तथा पशुचौपायासमेत पुरिएका छन् ।
वडाध्यक्ष बोहराका अनुसार पहिरोले आसपासका अन्य घरसमेत जोखिममा पारेको छ । भिरालो जमिनका कारण गाउँका थप २० परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।
पहिरो दिउँसोको समयमा खसेकाले घरभित्र रहेका स्थानीय समयमै सुरक्षित स्थानतर्फ गएकाले मानवीय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार उद्धारका लागि त्रिपाल, पाललगायत आवश्यक सामग्रीसहित प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।
गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट घटनास्थल पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्ने भएकाले उद्धार टोलीलाई घटनास्थल पुग्न समय लाग्ने प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्