जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार १३:४१

शंखमुलको होस्टलमा धारिलो हतियार हानाहान, गयो एक युवाको ज्यान


काठमाडौं, भदौ ५ । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा तरवार हानाहान हुँदा एक युवकको मृत्यू भएको छ । भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका १७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका कालाथोकीको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने फरार रहेका प्रमित पटेलको खोजी तथा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।