जनता टाइम्स

७ भाद्र २०८३, आईतवार ०९:०५

दास व्यापार उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस


काठमाडौं, भदौ ७। दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)का अनुसार हरेक वर्ष अगस्ट २३ तारिखमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो।

सन् १७९१ मा हालको हाइटीको सेन्ट–डोमिङ्गमा अगस्ट २२ देखि २३ को रातमा सुरु भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो।

युनेस्कोका अनुसार यो दिवस पहिलोपटक सन् १९९८ मा हाइटीमा र सन् १९९९ मा सेनेगलको गोरे द्वीपमा मनाइएको थियो। त्यसयता यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय अवसरका रूपमा मनाइँदै आएको छ।

दिवसले दास व्यापार तथा दासत्वका कारण उत्पन्न ऐतिहासिक अन्याय र त्यसका दीर्घकालीन प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानवअधिकार, स्वतन्त्रता, समानता र मानवीय मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्छ।

युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहास स्मरण गर्नु विगतप्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह र अमानवीय व्यवहारका सबै स्वरूपविरुद्ध वर्तमान तथा भविष्यमा सचेत रहन आवश्यक रहेकोमा जोड दिँदै आएको छ।