जनता टाइम्स

८ भाद्र २०८३, सोमबार ०८:२०

रेड नोटिस जारी भएका जबरजस्ती करणीका फरार प्रतिवादी ओमनबाट पक्राउ


काठमाडौं, भदौ ८। जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका बिमल राजवंशी पक्राउ परेका छन्।

बिर्तामोड नगरपालिका–३ घर भएका राजवंशीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले जारी गरेको ‘रेड नोटिस’का आधारमा ओमनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इन्टरपोल महासचिवालयले राजवंशीविरुद्ध सन् २०२६ मे १३ मा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउका लागि रेड नोटिस जारी गरेको थियो।

राष्ट्रिय केन्द्रीय ब्युरो (एनसीबी) काठमाडौं र एनसीबी मस्कट, ओमनको संयुक्त पहलमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि एनसीबी काठमाडौंको टोलीले कतार एयरवेजमार्फत राजवंशीलाई नेपाल ल्याएको हो। प्रहरीले उनीविरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।