काठमाडौँ, भदौ १० । नेकपा (एमाले) ले बाढी प्रभावितको उद्धार तथा मानवीय सहायतामा अग्रपंक्तिमा खटिन पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
बुधबार पार्टी कार्यालयमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतमा सक्रिय हुन विशेष निर्देशन दिएको हो ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भएर बाढीपीडितको उद्धार र राहतमा जुट्न आह्वान गरेको छ ।
बैठकले विपद्मा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको भन्दै बेपत्ता नागरिकको खोजी, जोखिममा रहेकाहरूको तत्काल सुरक्षित स्थानमा स्थानान्तरण तथा प्रभावितको पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ ।
त्यस्तै, विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधनस्रोत तथा उपलब्ध विकल्प परिचालन गरी तत्काल उद्धार तथा राहतलाई प्रभावकारी बनाउन एमालेले आग्रह गरेको छ ।
एमालेले विपद्बाट प्रभावित नागरिकका लागि तत्कालीन तथा दीर्घकालीन राहत प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेको छ ।
बाढी तथा विपद्को यस कठिन समयमा पार्टीका सम्पूर्ण संयन्त्रलाई पीडितको उद्धार, राहत तथा मानवीय सहयोगमा परिचालन गर्ने निर्णय एमालेले गरेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्