काठमाडौं, भदौ १० । बाढीपहिरोबाट उत्पन्न विपद्को परिस्थितिका कारण प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठक समापन गर्दै बिहीबार बिहान १ बजेका लागि बैठक बोलाउनुभएको थियो । तर, मुलुकका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण उत्पन्न संकटलाई मध्यनजर गर्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा विपद्का कारण सरकारका साथै सभाका सदस्यहरू समेत राहत, उद्धार तथा खोजी कार्यमा संलग्न हुनुपर्ने अवस्था रहेकाले निर्धारित समयमा बैठक बस्न नसक्ने जनाइएको छ ।
रसुवालगायतका जिल्लामा आएको ठूलो बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक तथा सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेकाले संसद् बैठक स्थगित गरिएको हो ।
सरकार तथा सम्बन्धित निकायहरू अहिले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यमा जुटिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्