जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २०:०५

भोटेकोशीको माथिल्लो क्षेत्रमा नयाँ ताल बनेको भेटियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


काठमाडौं, भदौ ११ । भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर नयाँ ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले बिहीबार सूचना जारी गर्दै ताल बढ्दै गएको र फुट्ने जोखिमसमेत रहेको जनाएको छ।

महाशाखाका अनुसार चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाका आधारमा भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण गर्दा भोटेकोशीको माथिल्लो भागमा नदी थुनिएर ताल बनेको देखिएको हो।

तालको आकार बढ्दै गएको र फुट्ने जोखिम रहेकाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दा, यात्रु तथा उद्धार कार्यमा खटिएका सबैलाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।