जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार १०:१९

बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना, खोज तथा उद्धार प्रभावित हुनसक्ने


काठमाडौं, भदौ १३ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज भारी वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले उद्धार कार्यमा असर पर्नसक्ने उहाँले बताउनुभयो ।

“एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ । त्यसैले सतर्कता आवश्यक छ,” उहाँले भन्नुभयो ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ । यस्तो अवस्थामा बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार, आवागमन र राहत वितरणमा थप चुनौती आउनसक्ने भएकाले सम्बन्धित निकाय तथा स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।