काठमाडौं, १३ भदौ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरोमा पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले शुक्रबार साँझ माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी तीव्र पारेको थियो ।
खोजीका क्रममा माटोको थुप्रोमुनि पुरिएकी बालिकालाई सकुशल बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धारलगत्तै बालिकालाई प्राथमिक उपचार तथा हेरचाहका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेमा पुर्याइएको थियो ।
बीओपीमा न्यानो बनाएर राखिए पनि बालिकाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ ।
तर, प्रतिकूल मौसम र रातको समयका कारण तत्काल हेलिकप्टर उडानमा समस्या भएको जनाइएको छ । बालिकाको उपचारका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास भइरहेको सुरक्षाकर्मीले बताएका छन् ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली निरन्तर परिचालित भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्