जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार १०:२६

रसुवा बाढी : १६३ विदेशीसहित २ हजार ४६५ जनाको सकुशल उद्धार


काठमाडौं, भदौ १३। चीनको तिब्बतबाट रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितमध्ये नेपाली सेनाले हालसम्म १६३ जना विदेशी नागरिकसहित २ हजार ४६५ जनाको सकुशल उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार भदौ १३ गते बिहान ८ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट २ हजार ४६५ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका विदेशी नागरिकमध्ये ११३ जना भारतीय, २६ जना चिनियाँ, १५ जना कोरियन, चार जना जर्मन, दुई जना अमेरिकी, दुई जना इटालियन र एक जना ओमानी नागरिक रहेका छन् ।

सेनाका अनुसार १९१ जनालाई जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ । हवाई मार्गबाट २ हजार २६५ जना र स्थलमार्गबाट २०० जनाको उद्धार गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य सेवा तथा राहत वितरणको कामसमेत जारी रहेको सेनाले जनाएको छ । त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म १ हजार ७०६ जनाले उपचार सेवा पाएका छन् ।

प्रभावित जिल्लामा खोज, उद्धार तथा राहतका लागि नेपाली सेनाका ६ हजार ७ सयभन्दा बढी जवान परिचालन गरिएको छ ।

त्यस्तै, काठमाडौं–त्रिशूली स्थलमार्ग हुँदै त्रिशूलीबाट हेलिकप्टरमार्फत माथिल्लो त्रिशूली–३ ए को सुरुङ क्षेत्रमा ३ हजार ६ सय किलो, मैलुङमा ५०० किलो र बेत्रावतीमा २२० किलो राहत सामग्री पुर्‍याइएको सेनाले जनाएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भदौ १२ गतेदेखि माथिल्लो त्रिशूली–३ ए को सुरुङ क्षेत्रमा नेपाली सेनाका ८४ जनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी १४६ जनाको संयुक्त टोली परिचालन गरिएको छ ।