जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार २२:००

भोटेकोशी बाढी : ४ हजार ४७२ जना अझै सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९३३


काठमाडौं, भदौ १४ रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित ४ हजार ४७२ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीन हुनेमा विभिन्न सरकारी कार्यालय, बैंक तथा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसमेत रहेका छन्। आठ वटा जलविद्युत् आयोजनाका ९३३ जना कर्मचारी सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभएको छ।

त्यसैगरी, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका चार जना, आठ वटा बैंक शाखाका २६ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रवक्ता काफ्लेका अनुसार रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना, मकवानपुरबाट ६५ जना र सिन्धुपाल्चोकबाट २२५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। काठमाडौं उपत्यकामा ४८१ जना तथा कोशी प्रदेशमा १३८ जना सम्पर्कविहीन रहेको उहाँले बताउनुभएको छ।

बाढीमा परी गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। त्यस्तै, ७४५ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभएको छ।

बाढीपछि प्रभावित विभिन्न जिल्लामा हालसम्म ७३५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका २५ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको तथा तीन जना प्रहरी कर्मचारीको शव फेला परी पहिचान भइसकेको बताइएको छ।

प्रहरीका अनुसार टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा पुरिएका घर तथा शवको खोजी कार्य जारी रहेको छ। जलविद्युत् आयोजनाका सुरुङमा समेत उद्धार तथा खोजी कार्य भइरहेको छ।

खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरीका ७ हजार ८८९ जना जनशक्ति परिचालन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभएको छ। पहिचान हुन नसकेका केही शवलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभएको छ।