काठमाडौं, भदौ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चिनियाँ राजदूत माओ मिङले भेटवार्ता गर्नुभएको छ ।
मंगलबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थाबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
भेटका क्रममा राजदूत मिङले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहेको बताउँदै आवश्यक जुनसुकै सहयोग गर्न चीन तयार रहेको जानकारी गराउनुभयो ।
बाढीपछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध गराइरहेको र आवश्यकता रहँदासम्म सहयोग जारी राख्ने राजदूत मिङले बताउनुभयो ।
सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा यस क्षेत्रमा थप सहकार्य गर्न आग्रह गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्