जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार २१:४८

ग्रीन आर्मी : सेनाकै सहमतिमा पोशाक, प्रमुख सल्लाहकारमा पूर्वआईजीपी खनाल


काठमाडौं, भदौ १६ । बाढी प्रभावित क्षेत्रमा उद्धारका क्रममा देखिएको ‘ग्रीन आर्मी’ नामक समूह नेपाली सेनाकै सहमतिमा निर्धारित पोशाक प्रयोग गर्दै आएको खुलेको छ ।

ग्रीन आर्मीका संस्थापक अध्यक्ष सविन शर्माका अनुसार संस्थाले २०७८ सालमै जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत पोशाक प्रयोगको अनुमति लिएको हो । नेपाली सेनाको जङ्गी अड्डा, रक्षा मन्त्रालय र गृह मन्त्रालयको सहमतिपछि प्रशासनले पोशाक प्रयोगको अनुमति दिएको उहाँले बताउनुभयो ।

शर्माका अनुसार ग्रीन आर्मी कुनै सैन्य संगठन नभई वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने स्वयंसेवी संस्था हो । यसको अवधारणा २०७० सालदेखि सुरु भएको र २०७२ सालको भूकम्पका बेला साँखु तथा सिन्धुपाल्चोकमा उद्धारमा सक्रिय भएको उहाँको दाबी छ ।

संस्थाले विद्यालयस्तरका विद्यार्थीलाई ‘इको क्लब’मार्फत वातावरण संरक्षण, वृक्षारोपण, सरसफाइ तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएको छ । संस्थाका अनुसार हाल देशभर ६ देखि ७ हजार जुनियर क्याडेट आबद्ध छन् भने तालिम प्राप्त गरी बाहिरिएका सदस्यको संख्या ३० देखि ७० हजारसम्म छ ।

ग्रीन आर्मीका प्रमुख सल्लाहकार नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल हुनुहुन्छ । शर्माका अनुसार पछिल्लो समय नुवाकोटमा भएको उद्धारमा पनि खनालको नेतृत्वमा ९–१० जनाको टोली परिचालन भएको थियो ।

संस्थामा आबद्ध क्याडेटलाई नेपाली सेना तथा नेपाल प्रहरीका अवकाशप्राप्त तालिमप्राप्त प्रशिक्षकले अनुशासन, ड्रिल, मास पिटी र विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिने गरिएको शर्माले बताउनुभयो । विपद् व्यवस्थापनका लागि नेपाली सेनाको श्री नं. १ विपद् व्यवस्थापन गण तथा सशस्त्र प्रहरीसँग समन्वय गर्ने गरिएको उहाँको भनाइ छ ।

नुवाकोटमा पछिल्लो बाढी तथा पहिरोका क्रममा स्थानीय प्रशासनलाई जानकारी गराएरै उद्धारमा खटिएको दाबी गर्दै शर्माले ग्रीन आर्मीले पहिरोमा पुरिएका घरबाट सामान निकाल्ने तथा पशुचौपायाको उद्धारलगायतका काममा सहयोग गरेको बताउनुभयो ।

ग्रीन आर्मीले आगामी दिनमा वातावरण संरक्षणसँगै कृषि क्षेत्रमा समेत काम गर्ने लक्ष्य राखेको जनाएको छ ।