काठमाडौं, भदौ १६ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म प्रभावकारी रूपमा पुग्न नसकेको आरोप लगाउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको बताउनुभयो ।
मन्त्रीहरू सामाजिक सञ्जालमा प्रचार गर्न व्यस्त भए पनि विपद् प्रभावित नागरिकले सरकार आफूहरूसँगै रहेको अनुभूति गर्न नसकेको उहाँको आरोप छ ।
सामाजिक सञ्जालमा सरकारका मन्त्री तथा सांसदले उद्धारमा खटिएको देखाउने गतिविधि गरे पनि त्यसले वास्तविक कामको प्रभावकारिता नदेखाउने झाँक्रीको टिप्पणी छ ।
उहाँले भन्नुभयो, ‘सोसल मिडियामा भयंकर भिजिबिलिटी छ । सोसल मिडियाको एल्गोरिदम चुनावजस्तै हाइपमा छ । तर सरकारका समर्थक, कार्यकर्ता र नेताहरूले के लेखिरहेका छन्, सामाजिक सञ्जालमा कस्तो म्यासेज दिइरहेका छन्, त्यसले सरकार कति प्रभावकारी काम गरिरहेको छ भन्ने देखिन्छ ।’
उहाँले केही सांसदले उद्धारका क्रममा सामान बोकेको तस्बिर र हेलिकोप्टर चढेको सेल्फी सामाजिक सञ्जालमा राखेको तथा मन्त्रीहरूले अरूको तस्बिरसमेत आफ्नै उद्धार गतिविधिजस्तो गरी प्रचार गरिरहेको आरोप लगाउनुभयो ।
यद्यपि झाँक्रीले विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासनले गरेको काम भने प्रशंसायोग्य रहेको बताउनुभयो ।
जलवायु परिवर्तनका कारण आगामी दिनमा अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका विपद् दोहोरिन सक्ने भन्दै उहाँले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा सरकार तथा नागरिक दुवैले थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
झाँक्रीका अनुसार एमालेले प्रदेश तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर राहतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।














प्रतिक्रिया दिनुहोस्