काठमाडौं, भदौ १६ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० जना आंशिक अंगसहितका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ४५३ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना रहेका छन् ।
उद्धार गरिएकामध्ये ३ हजार २१४ पुरुष, १ हजार ५३० महिला र पहिचान नखुलेका १४ जना छन् ।
प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापनको काम पनि जारी छ । हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ ।
सम्पर्कविहीनको विवरणमा २ हजार ३१५ स्वदेशी पुरुष, ३६८ स्वदेशी महिला, २५१ विदेशी पुरुष, ३३० विदेशी महिला, अन्य दुई तथा फोनमार्फत टिपाइएको १ हजार ३४० जना छन् । यसरी कुल ४ हजार ६०६ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव व्यवस्थापन तथा सम्पर्कविहीनको विवरण संकलनलाई निरन्तरता दिइएको छ ।
भोटेकोशीमा आएको आकस्मिक बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । विभिन्न सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा खोज, उद्धार, राहत तथा प्रभावितको व्यवस्थापन कार्य भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्