चितवन, भदौ १६ । भोटेकोशी बाढीमा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिको पहिचानका लागि चितवनमा आजदेखि डीएनए नमुना संकलन सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको सेवा इकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुरको सहयोगमा उद्योग संघको परिसरमा डीएनए नमुना संकलन सुरु गरेको हो ।
बाढीपछि चितवनमा फेला परेका शवको पहिचानका लागि मृतकका प्रथम तहका आफन्त (बुबा, आमा, छोरा वा छोरी) मध्ये कुनै एक जनाबाट डीएनए परीक्षणका लागि नमुना लिइने प्रहरीले जनाएको छ ।
नमुना दिन आउने आफन्तले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा ल्याउन प्रहरीले आग्रह गरेको छ ।
डीएनए नमुना संकलन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले बगाएर चितवन ल्याएका शवमध्ये पहिचान हुन नसकेका करिब २८० शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान प्रक्रिया अघि बढाउन डीएनए नमुना संकलन सुरु गरिएको हो ।














प्रतिक्रिया दिनुहोस्