जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार ०८:०२

तीन ठूला नदीमा जलसतह बढ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता


काठमाडौं, १७ भदौ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीमा पानीको बहाव बढेको छ । सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा सुनकोशी नदीको खुर्कोट, सिन्धुलीमा जलसतह ७ दशमलव ६२ मिटर पुगेको छ । यहाँ ७ दशमलव ५ मिटरलाई सतर्कता तह मानिन्छ । अहिले पानीको बहाव स्थिर रहेको छ ।

गोरखाको आरुघाट–गोरखा केन्द्रमा बुढीगण्डकी नदीको जलसतह ३ दशमलव ६ मिटर पुगेको छ । यहाँको सतर्कता तह ३ दशमलव ५ मिटर हो । नदीको पानीको सतह भने विस्तारै घटिरहेको छ ।

त्यस्तै, डडेलधुराको पारीगाउँमा महाकाली नदीको जलसतह ६ दशमलव ३७ मिटर पुगेको छ । यहाँ ५ दशमलव ८ मिटरलाई सतर्कता तह मानिन्छ । अहिले पानीको बहाव स्थिर रहेको छ ।

नदीमा पानीको सतह बढेर सतर्कता तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

बाढीको जोखिम कायमै रहेकाले नदी किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जानका लागि पूर्वतयारी गर्न आग्रह गरिएको छ ।