जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार ०८:१३

बाढीपीडितको व्यवस्थापन र क्षतिबारे संसद्मा विशेष प्रस्ताव


काठमाडौं, भदौ १७ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।

सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

विशेष प्रस्तावमार्फत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति प्रतिनिधिसभाले दुःख व्यक्त गर्नेछ ।

बैठकमा बाढीका कारण बेपत्ता तथा मृत्यु भएका स्वदेशी र विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने तथा घरबारविहीनको व्यवस्थापन र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ ।

बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुनेछ ।

यस्तै, दिउँसो १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।