काठमाडौं, भदौ १७ । नेपालमा बाढीपछि खोज तथा उद्धारको काम जारी रहे पनि जोखिम अझै टरिनसकेको विज्ञहरूले बताएका छन् । बाढीको स्रोत क्षेत्रमा रहेको हिमनदी, चट्टान र पहिरोका कारण अर्को बाढीको जोखिम कायमै रहेको उनीहरूको भनाइ छ ।
नेपाली जलवायु समूहसँग निकट इसिमोडका क्रायोस्फेयर विश्लेषक प्रशान्त बरालका अनुसार ठूलो रक–आइस एभलाञ्च अर्थात् ढुंगा र हिउँको हिमपहिरोपछि स्रोत क्षेत्रमा बाँकी रहेको हिमनदीको बरफ, फुटेका चट्टान र अस्थिर ढिकाहरू अझै जोखिमपूर्ण अवस्थामा छन् ।
हिमनदीमुनिको प्रभावित क्षेत्रमा बनेको तालबाट अधिकांश पानी बाहिरिसकेको विज्ञहरूले बताएका छन् । कोलोराडो बोल्डर विश्वविद्यालयका पहाडी भूगोलविद् आल्टन बायरर्सका अनुसार तत्काल तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउने गरी पानी फेरि बाहिरिने जोखिम भने देखिएको छैन ।
तर जोखिम पूर्ण रूपमा हटेको छैन । सम्भावित जोखिम पानीको मात्रामा मात्रै नभई वरपरको हिमनदी र चट्टान थप भत्किने सम्भावनामा पनि निर्भर रहने विज्ञहरूको भनाइ छ ।
पर्वतबाट ठूलो परिमाणमा बरफ वा चट्टान खसेमा त्यसले पानी विस्थापित गरी अर्को बाढी वा लेदोसहितको बाढी निम्त्याउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
त्यस्तै, हालै खसेका हिमपहिरो तथा पहिरोका थुप्रोसमेत अस्थिर हुन सक्ने भएकाले स्रोत क्षेत्र र आसपासका पहाडी ढिकामा निरन्तर निगरानी आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्