जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार ०८:३०

प्रधानमन्त्रीको फेसबुक ब्रिफिङमाथि प्रश्न, देवीघाटमा बेलिब्रिज त परै जाओस् तुइनसमेत बनेन


काठमाडौं, भदौ १७ । बाढीपछि क्षतिग्रस्त सडक तथा पुल पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढिरहेको प्रधानमन्त्री वालेन्द्र शाहले जानकारी दिनुभएको छ । उहाँले नुवाकोटको देवीघाट क्षेत्रमा पनि बेलिब्रिज निर्माणको काम अघि बढिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत दिनुभएको जानकारीअनुसार गल्छी–वेत्रावती सडकअन्तर्गत देवीघाट क्षेत्रमा लेदो हटाउनेसँगै बेलिब्रिज निर्माणको काम अघि बढाइएको छ । तादी–देवीघाट जोड्ने स्थानमा पनि बेलिब्रिज राख्ने तयारी भइरहेको उहाँले जनाउनुभएको छ ।

तर प्रधानमन्त्रीको उक्त जानकारीप्रति नुवाकोटकी नेतृ उषाकिरण तिमल्सिनाले प्रश्न उठाउनुभएको छ । उहाँका अनुसार मंगलबार दिउँसोसम्म देवीघाटमा बेलिब्रिज निर्माणको काम सुरु भएको देखिएको थिएन ।

बरु अस्थायी आवतजावतका लागि तुइन राख्ने तयारीसमेत वर्षाका कारण रोकिएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

तिमल्सिनाले देवीघाटको स्थलगत अवस्था र प्रधानमन्त्रीबाट सार्वजनिक गरिएको विवरणबीच ठूलो अन्तर देखिएको बताउनुभएको छ । उहाँले बेलिब्रिज निर्माणको कुरा परको विषय भएको र तुइनसमेत राख्न नसकिएको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले भने बाढीबाट पृथ्वी राजमार्गसहित विभिन्न सडक तथा पुलमा ठूलो क्षति पुगेको जानकारी दिनुभएको छ । उहाँका अनुसार ४८ वटा झोलुंगे पुल क्षतिग्रस्त भएका छन् । तीमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।

त्यसैगरी ३१ वटा मोटरेबल पुल बाढीले बगाएको र विभिन्न स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्रीले बताउनुभएको छ । सडक मर्मत तथा निर्माणका लागि प्राविधिक जनशक्ति परिचालन गरिएको र आपत्कालीन बजेटसमेत व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।

यता, प्रधानमन्त्रीको विवरण र स्थानीय तहबाट सार्वजनिक भइरहेको अवस्थाबीच देखिएको फरकपनले बाढीपछिको पुनःस्थापना तथा पूर्वाधार निर्माणको प्रगति विवरण कति यथार्थपरक छ भन्ने विषयमा प्रश्न उठेको छ ।