जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार ०८:३४

कृष्णभीर पहिरोको स्थायी समाधान खोजिँदै, सुरुङदेखि बाइपास सडकसम्मको विकल्पमा अध्ययन


काठमाडौं, भदौ १७ । कृष्णभीर पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउन अस्थायी संरचना निर्माण गरिने भएको छ । पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि भने सुरुङमार्ग र बाइपास सडक निर्माणसहित विभिन्न प्राविधिक विकल्प अघि सारिएका छन् ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउने तथा भविष्यमा पहिरोको समस्या दोहोरिन नदिने उपायबारे मन्त्रालयमा छलफल भएको जानकारी दिनुभएको छ ।

तत्कालका लागि हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न सकिने गरी संरचना तयार गर्ने निर्णय भएको उहाँले बताउनुभएको छ । त्यससँगै कृष्णभीरको माथिल्लो भागबाट नयाँ ट्र्याक खोलेर यातायात सञ्चालन गर्ने विकल्पसमेत अघि बढाइने भएको छ ।

सडक खुलाउन ट्र्याक निर्माण, ग्याबियन बक्स राख्ने तथा आवश्यक स्थानमा बोल्डर व्यवस्थापन गर्ने काम गरिनेछ । यसबाट राजमार्गमा आवतजावतलाई सकेसम्म चाँडो सहज बनाउने सरकारको तयारी छ ।

तर कृष्णभीरको समस्या तत्काल सडक खुलाएर मात्र समाधान नहुने भएकाले दीर्घकालीन प्राविधिक उपायको खोजी गर्न लागिएको मन्त्री लम्सालले बताउनुभएको छ । त्यसका लागि सुरुङमार्ग, सोइल नेलिङ र सिट पाइललगायत प्रविधिको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

सुरुङमार्ग वा वैकल्पिक बाइपास सडक निर्माणमध्ये उपयुक्त विकल्प पहिचान गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

प्राविधिक अध्ययनमा नेपाल जियोटेक्निकल सोसाइटीले विज्ञ सेवा उपलब्ध गराउनेछ । आवश्यकताअनुसार सडक विभाग र सोसाइटीबीच समझदारीपत्र (एमओयू) गरेर अध्ययन तथा प्राविधिक काम अघि बढाइने भएको छ ।