काठमाडौं, भदौ १७ । भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका–स्थित बट्टार बजारका अधिकांश घर तथा संरचना बगाउँदा एउटा पक्की घर भने जस्ताको तस्तै उभिएको छ । बाढीको बीचमा पनि नढलेको उक्त घर अहिले सामाजिक सञ्जालमा ‘हरियो घर’का रूपमा चर्चित छ ।
बाढीको भिडियो तथा तस्वीर सार्वजनिक भएपछि घर कसरी जोगियो भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेका छन् । कतिपयले यसलाई संयोग वा चमत्कार मानेका छन् भने कतिपयले घरको बलियो जग र निर्माण संरचनाका कारण क्षति नभएको हुन सक्ने बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै घरधनी लक्ष्मी पाण्डेले भने आफूहरूले भोगेको क्षण सम्झिँदा अहिले पनि त्यो घटना विश्वास गर्न कठिन हुने बताउनुभएको छ ।
पाण्डेका अनुसार बाढी आउनुभन्दा करिब पाँच मिनेटअघि मात्रै उहाँहरूलाई जोखिमबारे जानकारी प्राप्त भएको थियो । त्यसबेला उहाँ र उहाँका श्रीमान् घरबाट केही मिनेटको दूरीमा रहेको पसलमा हुनुहुन्थ्यो ।
बाढीको सूचना पाएपछि उहाँहरू तत्काल घरतर्फ लाग्नुभएको थियो । घरमा छोरी र सासू हुनुहुन्थ्यो । घर पुगेपछि पाण्डेले सासूलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको थियो । तर, विगतमा त्यति ठूलो बाढी नआएको भन्दै सासूले घर छाड्न नमानेको उहाँले बताउनुभएको छ ।
केही समयमै पुरानो पुलसमेत भत्काउँदै बाढीको भीषण भेल आएको पाण्डेले सुनाउनुभएको छ । बाहिर निस्कने अवस्था नरहेपछि परिवारका ६ जना घरको माथिल्लो तल्लामा गएर बस्नुभएको थियो ।
आसपासका घर तथा संरचना बाढीले बगाउँदै गरेको दृश्य निकै त्रासदीपूर्ण रहेको उहाँको अनुभव छ । बाढीको शक्तिशाली बहावले आफ्नो घरसमेत २०७२ सालको भूकम्पका बेला जस्तै नराम्ररी हल्लिएको पाण्डेले बताउनुभएको छ ।
त्यो अवस्थामा आफूहरू बाँच्ने आशासमेत कमजोर बनेको उहाँले सुनाउनुभएको छ । तर, जोखिमको पर्वाह नगरी छिमेकीहरू उद्धारका लागि अघि आएपछि परिवारका सदस्यहरू सुरक्षित हुन सफल भएको उहाँको भनाइ छ ।
आफूहरूको ज्यान जोगाउन छिमेकीहरूले गरेको सहयोगलाई पाण्डेले भगवान् आएर जीवन बचाएजस्तै भएको बताउनुभएको छ ।
भयावह बाढीबाट घर र परिवार जोगिएको घटनालाई उहाँले आफ्नो जीवनको ‘दोस्रो जन्म’का रूपमा लिनुभएको छ । उहाँले उद्धारमा सहयोग गर्ने सबै छिमेकीप्रति आभार व्यक्त गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्