काठमाडौं, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा आफन्त बेपत्ता भएको आठ दिन बितिसक्दा पनि कुनै खबर नआएपछि केही पीडित परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।
भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रका नागरिक सम्पर्कविहीन छन्। लामो समयसम्म खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि केही परिवारले आश मारेका हुन्।
विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालका अनुसार बेत्रावती बजारबाट मात्रै २४३ जना बेपत्ता भएका छन्। उहाँका अनुसार बाढीमा विद्यालयसमेत बगाउँदा थप करिब २०० विद्यार्थीको अवस्था अज्ञात रहेको छ।
उहाँले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना न्यून हुँदै गएपछि केही परिवारले अन्तिम संस्कार सुरु गरेको बताउनुभएको छ। राज्यबाट उपलब्ध हुने अन्त्येष्टि खर्चका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई जानकारी गराइएको उहाँको भनाइ छ।
बाढीबाट बेत्रावतीमा मात्रै ३१४ घरमा क्षति पुगेको र करिब १ हजार २०० परिवार विस्थापित भएको वडाध्यक्ष नेपालले जानकारी दिनुभएको छ। खोजीका क्रममा भदौ १५ गते बेत्रावतीस्थित एउटै घरबाट २३ वटा शवसमेत फेला परेका थिए।
त्यस्तै, विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितका अनुसार त्रिशूली र ढुंगे बजारबाट मात्रै ७२ जना बेपत्ता भएका छन्। आफन्तको अवस्था पत्ता नलागेपछि केही परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेको उहाँले बताउनुभएको छ।
उहाँका अनुसार एउटै परिवारका पाँच, चार तथा दुई जनासम्म बेपत्ता भएका छन्। केही परिवारले केही दिन अझै पर्खिने बताएका छन् भने कतिपयले अन्तिम संस्कार सुरु गरिसकेका छन्।
विदुर नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र नेपालका अनुसार तुप्चे, सोले, सेतीटार र अक्करे क्षेत्रबाट ६५ जना बाढीमा बेपत्ता भएको पुष्टि भएको छ। उहाँका अनुसार सोले र सेतीटार क्षेत्रमा एउटै परिवारका आठ जनासम्म बेपत्ता भएका छन्।
सोलेका पत्रकार निराजन पौडेलले पनि आफ्ना आमाबुबा, काकाकाकी र बहिनीसहित पाँच जना आफन्त बेपत्ता भएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्नुभएको छ।
त्यस्तै, विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेका अनुसार देवीघाट बजारबाट १८ जना बेपत्ता भएका छन्। तीमध्ये केहीका परिवारले पनि अन्तिम संस्कार गर्न थालेका छन्।
बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहे पनि धेरै परिवारले लामो समयसम्म आफन्तको अवस्था थाहा पाउन नसक्दा पीडादायी अवस्थामा अन्तिम संस्कार गर्न बाध्य भएका छन्।














प्रतिक्रिया दिनुहोस्