काठमाडौं, भदौ १७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत्तिको समयमा सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ।
बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संकटका बेला राज्यको उपस्थिति प्रभावकारी रूपमा देखिनुपर्ने बताउँदै प्रधानमन्त्री शाहलाई समयको संवेदनशीलता बुझेर काम गर्न चेतावनी दिनुभएको हो।
उहाँले विपत्तिको समयमा राष्ट्र एकजुट देखिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैको विश्वास जित्ने प्रयास नगरे परिस्थिति प्रतिकूल हुन सक्ने बताउनुभयो।
“विपत्तिको समयमा राष्ट्र एकजुट देखिनुपर्छ। मैले गरेर त अहिले हुँदैन, हिजो हुने जमाना थियो, अहिले अर्को जमाना आएको छ,” प्रचण्डले भन्नुभयो, “अहिले तपाईंहरूको नेता प्रधानमन्त्री हुनुहुन्छ। उहाँले गम्भीर भएर सबैको विश्वास जित्न खोज्नुभएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ।”
प्रचण्डले विपत्तिका बेला सरकार सामाजिक सञ्जालमा पोस्ट गर्नमै सीमित भएको आरोपसमेत लगाउनुभयो। उहाँले विपद् प्रभावित नागरिकलाई सामाजिक सञ्जालका पोस्टभन्दा तत्काल उद्धार, राहत र राज्यको प्रत्यक्ष उपस्थितिको आवश्यकता रहेको बताउनुभयो।
“पीडितले अहिले सोसल मिडियामा पोस्ट खोजेका होइनन्। सोसल मिडियामा पोस्ट गरेर चुनाव त जित्नुभयो, यो संकट समाधान हुँदैन,” उहाँले भन्नुभयो।
उहाँले संकट समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।














प्रतिक्रिया दिनुहोस्