जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार १७:०४

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा–आमासहित पाँच जनाको अन्तिम संस्कार


काठमाडौं, भदौ १७ रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य एक सातासम्म पनि फेला नपरेपछि परिवारले अन्तिम संस्कार गरेको छ।

बाढीपछि सम्पर्कविहीन भएका पौडेलका बुवा वासुदेव, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानीको विभिन्न स्थानमा खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले बुधबारदेखि अन्तिम संस्कारको प्रक्रिया अघि बढाएको हो।

पत्रकार पौडेलले सामाजिक सञ्जालमार्फत आफ्ना परिवारका सदस्यहरूको खोजी गर्दा पनि फेला नपरेपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको जानकारी दिनुभएको छ।

“गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता हुनुभएका हाम्रा अभिभावक बुवा, आमा, अंकल, अन्टी र बहिनीको खोजी गर्दा पनि नभेटिएपछि आजदेखि हामी अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका छौँ,” उहाँले लेख्नुभएको छ।

पौडेल परिवारको अन्तिम संस्कार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित लोलाङ–बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा गरिएको हो।

नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना भएका पौडेलका परिवार भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए। यसअघि पौडेलले आफ्ना परिवारका सदस्यको खोजी तथा उद्धारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको थियो।

“बुवा, ममी, अंकल, अन्टी र बहिनीको खोजी गरिदिनुहुन सबैसँग आग्रह गर्दछु,” उहाँले त्यतिबेला भन्नुभएको थियो।

भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाका नदी तथा तटीय क्षेत्र प्रभावित भएका छन्। सुरक्षा निकाय तथा विभिन्न टोलीले बेपत्ताको खोजी तथा उद्धार जारी राखे पनि सबै बेपत्ताको अवस्था अझै यकिन हुन सकेको छैन।

पौडेल रातोपाटी डटकममा कार्यरत पत्रकार हुनुहुन्छ।