काठमाडौं, भदौ १७ । भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षति पुर्याएको एक सातापछि चीनले नेपालसँगको केरुङ सीमा नाका जोड्ने जी२१६ राष्ट्रिय राजमार्ग पुनः सञ्चालनमा ल्याएको छ।
सिंगापुरको सीएनए समाचार संस्थाका अनुसार सडक सम्पर्क पुनःस्थापित भएसँगै बाढी तथा पहिरोबाट प्रभावित मुख्य क्षेत्रमा पहिलोपटक ठूला तथा भारी मेसिनहरू पुर्याउन सहज भएको छ।
भीर, भत्किने जोखिममा रहेका डाँडा तथा तीव्र गतिमा बगिरहेको नदीको साँघुरो खोँचमा उद्धार टोलीले निरन्तर काम गर्दै जी२१६ राजमार्गको सडक संरचना पुनर्निर्माण गरी यातायात सञ्चालनमा ल्याएको बताइएको छ।
राजमार्ग खुल्नुअघि बुधबार उद्धार सामग्री तथा आवश्यक उपकरण हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याइएको थियो।
चिनियाँ सीमा भन्सार कम्प्लेक्स पुरिएको क्षेत्रमा दर्जनौँ एक्स्काभेटर तथा अन्य भारी मेसिन परिचालन गरिएको जनाइएको छ। पुरिएका व्यक्तिको खोजीका लागि विशेष प्रविधि तथा तालिमप्राप्त कुकुरसहितका उद्धार टोलीलाई खोँच, नदी किनार र ध्वस्त पूर्वाधार भएका क्षेत्रमा परिचालन गरिएको छ।
चीनको तिब्बत क्षेत्रमा बाढी तथा पहिरोका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। २३ देशका २६१ विदेशी नागरिकसहित कुल ५४६ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।
नेपालतर्फ भने भोटेकोशी बाढी तथा त्यसपछि आएको पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार माथिल्लो तटीय क्षेत्रमा बनेका तालहरूमा पानीको मात्रा घट्दै गएकाले ताल फुट्ने जोखिम केही कम भएको छ। यद्यपि, भूभाग कमजोर रहेकाले थप पहिरो खस्ने जोखिम भने अझै कायमै रहेको बताइएको छ।
जी२१६ राजमार्ग पुनः सञ्चालनमा आएसँगै केरुङ नाका हुँदै प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री र आवश्यक उपकरण लैजान सहज हुने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्