काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले तत्कालका लागि व्यावसायिक प्रयोजनमा एलपी ग्यासको बिक्री तथा वितरणमा रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ।
ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन निगम र ग्यास बिक्रेता महासंघका प्रतिनिधिबीच बुधबार बसेको संयुक्त बैठकले विभिन्न निर्णय गरेको हो।
निर्णयअनुसार काठमाडौं उपत्यकामा ग्यास बिक्री तथा वितरण गर्ने उद्योगहरूले तत्कालका लागि तराई क्षेत्रका उद्योगमै सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाउने भएका छन्।
वैकल्पिक मार्गबाट बजारमा ल्याइने ग्यास घरायसी तथा अति आवश्यक उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गरिनेछ।
व्यावसायिक प्रयोजनका लागि ग्यास प्रयोग गर्ने होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायले तत्कालका लागि वैकल्पिक रूपमा आफैं ग्यासको व्यवस्थापन गर्नुपर्नेछ।
बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ।














प्रतिक्रिया दिनुहोस्