जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार १९:५२

अमेरिकाले पठाएको थप राहत सामग्री काठमाडौं आइपुग्यो


काठमाडौं, भदौ १७ भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अमेरिकाले नेपाललाई उपलब्ध गराएको थप मानवीय तथा विपद् प्रतिकार्य सामग्री काठमाडौं आइपुगेको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार बुधबार अमेरिकी सेनाका दुईवटा मालवाहक विमानमार्फत ५ हजार थान विशेष विपद् उद्धार तथा शव व्यवस्थापन सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–एन्ड लोडर नेपाल ल्याइएको हो।

नेपालको नेतृत्वमा भइरहेको खोजी, उद्धार तथा पुनःस्थापना अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले ती सामग्री उपलब्ध गराइएको दूतावासले जनाएको छ।

नेपाल सरकारले गरेको अनुरोधका आधारमा उक्त सहयोग पठाइएको अमेरिकी दूतावासको भनाइ छ।

यसअघि अमेरिकाले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा विपद् प्रतिकार्यका लागि ३६ लाख अमेरिकी डलर बराबरको सहयोग घोषणा गरिसकेको थियो।

अमेरिकाबाट प्राप्त थप सामग्रीले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।