जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार २०:१८

सेनाको आपत्तिपछि उद्धारस्थलबाट फर्किएका थिए गृहमन्त्री गुरुङ


काठमाडौं, भदौ १७ । भदौ १० गते आएको बाढीपछि खोज तथा उद्धारका लागि घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङ नेपाली सेनाको आपत्तिपछि उद्धारस्थलबाट फर्किनुभएको पाइएको छ ।

भदौ १२ गते माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि गृहमन्त्री गुरुङ आफैँ फिल्डमा खटिनुभएको तस्बिर सार्वजनिक भएको थियो ।

गृहमन्त्री स्वयं उद्धारस्थलमा पुगेर काममा संलग्न हुनुभएको विषयमा सार्वजनिक रूपमा आलोचना भइरहेका बेला नेपाली सेनाले समेत उहाँको उपस्थितिप्रति असहजता जनाएको उच्च सैनिक स्रोतले बताएको छ ।

सैनिक स्रोतका अनुसार उच्च पदमा रहेका व्यक्ति उद्धारस्थलमै उपस्थित हुँदा उद्धार कार्यमा असहजता उत्पन्न भएको भन्दै गृहमन्त्रीलाई त्यहाँबाट फर्किन अनुरोध गरिएको थियो । उच्च पदस्थ व्यक्तिको उपस्थितिले सञ्चारमाध्यमको ध्यानसमेत उद्धारस्थलमा केन्द्रित हुने भएकाले समन्वय र निर्देशनको भूमिकामा रहन आग्रह गरिएको स्रोतको भनाइ छ ।

सेनाको आग्रहपछि गृहमन्त्री गुरुङ उद्धारस्थलबाट फर्किएर विदुरस्थित मैथली ब्यारेक पुग्नुभएको र त्यसपछि काठमाडौं आउनुभएको जनाइएको छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा ३५ जना फसेको बताइए पनि उनीहरूको उद्धार हुन सकेको छैन । अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार पनि अझै हुन सकेको छैन ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभामा सुरुङभित्र लेदो भरिएको अवस्थामा उद्धार गर्ने विज्ञता र क्षमता विश्वका कुनै पनि देशसँग नरहेको बताउनुभएको छ ।

उद्धार कार्यमा कठिनाइ भइरहेका बेला सरकारको नेतृत्व, समन्वय र प्राविधिक क्षमतामाथि भने प्रश्न उठिरहेका छन् ।