जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०७:२५

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन


काठमाडौँ, भदौ १८। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । बाढीमा परी हालसम्म एक हजार २०४ जनाको मृत्यु भएको छ भने चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार राहत तथा उद्धारसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन भएका छन् । तीमध्ये नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरी बलका चार हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् ।

सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले कतिपय क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ ।

चितवनमा सबैभन्दा धेरै शव

प्राधिकरणका अनुसार हालसम्म रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

सेनाको हवाई उद्धार तीव्र

विपद्का क्रममा नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकतामा राखेको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ ।

खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ । बुधबार मात्रै ८० वटा हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ ।

निजी क्षेत्रले पनि २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहतमा सहयोग गरेको छ । सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट नागरिकको उद्धार र राहत सामग्री ढुवानी भइरहेको छ ।

सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्ति सम्पर्कविहीन

प्राधिकरणको विवरणअनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन् ।

त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

नुवाकोटबाट एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका नेपाली १६४ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना पनि सम्पर्कविहीन छन् ।

राहत तथा स्वास्थ्य सामग्री पठाउने क्रम जारी

बाढी प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम जारी रहेको प्राधिकरणले जनाएको छ ।

ठूलो मानवीय तथा भौतिक क्षति भएको र हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ । प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्रीको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।