जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०७:४३

सदरमुकाममा राहतको थुप्रो, दुर्गममा भोकको डर


काठमाडौं, १८ भदौ । रसुवाको सदरमुकाम धुन्चेमा हजारौँ किलो राहत सामग्री थुप्रिएको छ । तर, भोटेकोशी बाढीपछि सडक सञ्जालबाट सम्पर्कविच्छेद भएका दुर्गम बस्तीमा भने पर्याप्त खाद्यान्न पुग्न नसक्दा भोकमरीको जोखिम बढेको छ ।

धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा मात्रै करिब ४० हजार किलो राहत सामग्री मौज्दात रहेको छ । काठमाडौं हुँदै सडकमार्गबाट धुन्चेसम्म मात्रै ९१ हजार किलो खाद्यान्न पुगिसकेको छ । तर, बाढीबाट प्रभावित आमाछोदिङमो गाउँपालिकाको ठूलो हाकु लगायतका दुर्गम बस्तीमा भने आवश्यकताअनुसार राहत पुग्न सकेको छैन ।

स्थानीयका अनुसार ठूलो हाकुमा हालसम्म हेलिकोप्टरमार्फत करिब आठ बोरा मात्रै राहत सामग्री पुर्‍याइएको छ । हाकुवेसीमा भने तीन–चार पटक गरी करिब ५० देखि ६० बोरा सामग्री झारिएको छ ।

वडाध्यक्ष साङ लामा तामाङका अनुसार ठूलो हाकुमा डेढदेखि दुई सय परिवार र हाकुवेसीमा करिब १५० परिवार बसोबास गर्छन् । बाढीपछि यस क्षेत्रमा कम्तीमा ७० जना बेपत्ता रहेको र एक जनाको शव फेला परेको उहाँले बताउनुभयो ।

‘गाउँमा खाद्यान्नको समस्या हुन थालेपछि राहत सामग्री बढाइदिन आग्रह गर्न धुन्चे आएका छौँ,’ वडाध्यक्ष तामाङले भन्नुभयो, ‘हेलिकोप्टरबाट केही सामग्री लैजान खोजे पनि अवतरण गर्न नसकेपछि फर्किनुपर्‍यो ।’

उहाँका अनुसार पालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा खाद्यान्नसँगै बत्ती, सञ्चारका लागि सोलार प्यानल र खाना पकाउने ग्यासको समेत अभाव छ ।

सडक र पुल नहुँदा राहत पुर्‍याउनै कठिन

बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि रसुवाका धेरै गाउँ सडक सञ्जालबाट टुटेका छन् । कतिपय ठाउँमा हेलिकोप्टर अवतरण गर्न सक्ने स्थानसमेत छैन ।

सशस्त्र प्रहरीका डीएसपी तुलबहादुर भण्डारीका अनुसार भौगोलिक रूपमा कठिन स्थानमा राहत पुर्‍याउन चुनौती भइरहेको छ ।

‘कतिपय ठाउँमा अवतरण गर्ने ठाउँसमेत नभएकाले सानो मात्रामा सामग्री पठाउनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘हेलिकोप्टर उद्धारमा पनि परिचालित हुनुपर्ने भएकाले राहत वितरणमा समय लागिरहेको छ ।’

नेपाली सेनाका सहायक रथी उज्ज्वलविक्रम राणाका अनुसार हेलिकोप्टरबाट समेत पुग्न नसक्ने स्थानमा स्थानीय जनप्रतिनिधिमार्फत राहत पुर्‍याउने प्रयास भइरहेको छ । तर, कतिपय जनप्रतिनिधि नै सम्पर्कविहीन भएकाले समस्या भइरहेको उहाँले बताउनुभयो ।

सहज ठाउँमा राहतको थुप्रो

सडकमार्गबाट सहजै पुग्न सकिने नुवाकोटको विदुरमा भने राहत सामग्रीको ठूलो मौज्दात छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालका अनुसार हालसम्म २३९ वटा संघसंस्थाले विदुरसम्म राहत सामग्री ल्याएका छन् ।

उहाँका अनुसार ती सामग्रीमध्ये बुधबार बिहानसम्म १७५ स्थानमा पठाइसकिएको छ । रसुवाको उत्तरगयामा समेत हेलिकोप्टरमार्फत तीन पटक राहत सामग्री पठाइएको र त्रिशूली अस्पतालमा मेडिकल सामग्री पुर्‍याइएको उहाँले जानकारी दिनुभयो ।

रसुवाको सदरमुकाममा मात्रै राहत थुप्रिन नदिन आवश्यकताअनुसार स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयबाट सामग्री पठाउन पालिकाहरूलाई पत्राचार गरिएको थियो । प्रभावित क्षेत्रमा कति राहत आवश्यक छ, कति नागरिकलाई आवश्यक छ र हेलिकोप्टर वा सवारीसाधनबाट कहाँ सामग्री झार्नुपर्ने हो भन्ने विवरणसमेत मागिएको थियो ।

गोसाइँकुण्ड र आमाछोदिङमोमा बढी समस्या

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका थुमन, खाम्दिङ, विदिम, लिङ्दिन, ठूलो स्याफ्रु र रावललगायतका बस्तीमा पनि पर्याप्त राहत पुग्न नसकेको स्थानीयको गुनासो छ ।

आमाछोदिङमो गाउँपालिकाका अधिकांश बस्तीमा समेत राहत अभाव रहेको जनप्रतिनिधिहरूले बताएका छन् ।

वडा नं. २ का दावा दुर्चे तामाङले सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले केही बोरा राहतले मात्रै गाउँको आवश्यकता पूरा नहुने बताउनुभयो ।

‘५–६ बोरा राहतले पुग्दैन । त्यति आउँदा त वितरणमै झगडा हुने अवस्था हुन्छ,’ उहाँले भन्नुभयो, ‘तत्काल गोरेटो बाटो भए पनि नखोल्ने हो भने मानिसहरूलाई बस्नसमेत गाह्रो हुन्छ ।’

उहाँका अनुसार उक्त क्षेत्रमा बाढीले ठूलो भौतिक क्षति नगरे पनि रसुवागढीमा काम गर्न गएका धेरै स्थानीय सम्पर्कविहीन भएका छन् ।

राहत वितरणमा हेलिकोप्टरकै भर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारसम्म रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लाबाट करिब तीन हजार ९१६ जना सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार नेपाली सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । प्रभावित क्षेत्रमा ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ ।

सशस्त्र प्रहरीको समन्वयमा पनि हवाई माध्यमबाट राहत सामग्री पठाउने काम भइरहेको छ । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार राहत वितरणका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।

हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका होल्डिङ सेन्टरमा तीन हजार ४५३ जना रहेको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका २१ हजार ३१४ सुरक्षाकर्मी परिचालित छन् ।

सदरमुकाम र सडक पहुँच भएका क्षेत्रमा राहत सामग्रीको मौज्दात बढ्दै गए पनि सडक तथा सञ्चारविहीन दुर्गम बस्तीमा त्यसको पहुँच पुर्‍याउन नसक्दा विपद्पछि अर्को मानवीय संकटको जोखिम बढ्दै गएको छ ।