काठमाडौं, भदौ १८ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले बिहीबार बिहान ६ः३५ बजे सार्वजनिक गरेको विवरणअनुसार राजधानी जोड्ने मुख्य नाकादेखि विभिन्न पहाडी जिल्लाका सडकखण्डमा बाढी तथा पहिरोका कारण अवरोध सिर्जना भएको छ ।
काठमाडौं–धादिङ जोड्ने चन्द्रागिरि नगरपालिका–२ चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा १० टनसम्मका मालवाहक सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको छ । दिउँसो भने सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
रसुवातर्फ जाने त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ । उक्त सडक लामो समयसम्म अवरुद्ध रहन सक्ने प्रहरीले जनाएको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्ड तथा पासाङ ल्हामु राजमार्गमा पनि बाढी र पहिरोको जोखिमका कारण रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । केही स्थानमा भने सडक पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।
यस्तै, राजधानीलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडक पृथ्वी राजमार्गमा समेत सवारी आवागमन प्रभावित भएको छ । धादिङको कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ ।
परेवाभीरमा साना सवारीसाधन मात्रै एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् भने जवाखोला र कमेरेभीरमा पनि पहिरोका कारण सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
वर्षा अझै जारी रहेकाले सडकमा थप पहिरो तथा बाढीको जोखिम हुन सक्ने भन्दै प्रहरीले यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रामा निस्कनुअघि सम्बन्धित सडकखण्डको पछिल्लो अवस्था बुझेर मात्रै घरबाट निस्कन अनुरोध गरेको छ ।














प्रतिक्रिया दिनुहोस्