जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०७:५९

आजको मौसम : यी क्षेत्रमा भारी वर्षा, कहाँ छ बढी जोखिम?


काठमाडौं, भदौ १८ देशका विभिन्न स्थानमा बिहीबार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार रातिको तुलनामा दिउँसो धेरै भूभागमा भारी वर्षा हुने सम्भावना छ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

त्यस्तै, कोसी प्रदेशको तराईका केही, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको विभागले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।