जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०८:०१

नागरिक बचाउन माइकिङ गर्दै दौडिए, आफैँ बाढीमा बिलाए : २५ प्रहरी अझै बेपत्ता


काठमाडौं, भदौ १८ ‘माथिबाट ठूलो बाढी आइरहेको छ, छिटो माथिल्लो भागको सुरक्षित स्थानतर्फ जानुहोस्।’ भोटेकोशी नदीमा बाढी उर्लिएपछि नदी किनारका बस्ती र बजारका नागरिकलाई सुरक्षित स्थानतर्फ जान माइकिङ गर्दै दौडिएका प्रहरीहरू नै बाढीको भेलमा परे।

नागरिकको ज्यान जोगाउने क्रममा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, प्रहरी सहायक निरीक्षक रामहरि खड्का र प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टले ज्यान गुमाउनुभयो। उहाँहरूको शव फेला परिसकेको छ।

सोही टोलीमा रहेका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल हुनुभयो।

उहाँका अनुसार अचानक बाढीको भेल तीव्र गतिमा आउन लागेको सूचना पाएपछि प्रहरी टोली स्थानीयवासीलाई सुरक्षित स्थानमा जान माइकिङ गर्दै दौडिरहेको थियो। त्यही क्रममा बाढीको भेलले प्रहरी टोलीलाई नै चपेटामा पारेको थियो।

रिजालले आफ्नो मोटरसाइकल त्यहीँ छाडेर ज्यान जोगाउन माथितर्फको जङ्गलमा दौडिनुभएको थियो। करिब १० सेकेन्डको अन्तरले आफू बाँच्न सफल भएको उहाँको भनाइ छ।

तर, ज्यान जोगिएको खुसीभन्दा सहकर्मी गुमाएको पीडा ठूलो रहेको उहाँ बताउनुहुन्छ। आँखैअगाडि मानिस, घर र सहकर्मी बाढीमा हराएको दृश्यले आफूलाई अझै पछ्याइरहेको उहाँको भनाइ छ।

प्रत्यक्षदर्शीका अनुसार पाँच–छ जना प्रहरीको टोली जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै दौडिरहेको थियो। प्रहरीको चेतावनीपछि धेरै नागरिक सुरक्षित स्थानमा पुग्न सफल भए। तर, नागरिकलाई जोगाउन अग्रपङ्क्तिमा दौडिएका प्रहरीहरू भने बाढीबाट उम्कन सकेनन्।

२५ प्रहरी अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा नागरिकको उद्धार तथा सुरक्षाका क्रममा नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन भएको विवरण छ। तीमध्ये तीन जनाको शव फेला परिसकेको छ भने २५ जना अझै सम्पर्कविहीन छन्।

प्रहरीका अनुसार टिमुरे प्रहरी चौकीका आठ, स्याफ्रुबेँसीका तीन, रसुवागढीका आठ, हाकुका एक र अस्थायी प्रहरी पोस्ट मैलुङका पाँच जना प्रहरी सम्पर्कविहीन छन्।

त्यस्तै, बाढीमा नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन भएको विवरण छ।

विपद्को समयमा नागरिकको ज्यान जोगाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी नै ठूलो संख्यामा सम्पर्कविहीन भएपछि खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी गर्नु संगठनकै दायित्व भएको बताउनुभएको छ।

‘प्रहरीको पहिलो दायित्व भनेको नागरिकको जिउधनको सुरक्षा नै हो। यही जिम्मेवारी पूरा गर्ने क्रममा हाम्रा परिवार बेपत्ता छन्, खोज्न हामी नै लाग्नुपर्छ। यो हाम्रै दायित्व हो,’ उहाँले भन्नुभएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले विपद्को समयमा नागरिकको ज्यान जोगाउने क्रममा आफ्नै सदस्य गुमाउँदा संगठन शोकमा रहेको बताउनुभयो।

उहाँका अनुसार सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीका लागि छुट्टै टोली परिचालन गरिएको छ।

‘विपद्को समयमा प्रहरीको जिम्मेवारी शान्ति सुरक्षामा मात्र सीमित हुँदैन। जोखिमको सूचना प्रवाह गर्ने, नागरिकलाई सुरक्षित स्थानमा लैजाने, खोज तथा उद्धार गर्ने र आवश्यक परे शव व्यवस्थापन गर्नेसम्मको जिम्मेवारी प्रहरीकै काँधमा हुन्छ,’ काफ्लेले भन्नुभयो।

नागरिकलाई जोगाउने क्रममा बाढीमा परेका प्रहरी पनि कसैका परिवारका सदस्य हुन्। उनीहरू कसैका सन्तान, श्रीमान्, बुवा, दाजु वा भाइ हुन्। अहिले सम्पर्कविहीन सुरक्षाकर्मीका परिवार तथा बालबालिका उनीहरू फर्किने आशामा छन्।

ड्युटी सकेर घर फर्किने पर्खाइमा रहेका कैयौँ प्रहरीका परिवारमा अहिले बेचैनी छ। आफ्नो ज्यान जोखिममा रहेको अवस्थामा समेत नागरिकलाई बचाउन दौडिएका प्रहरी आफैँ घर नफर्किएको खबरले परिवार र संगठनलाई स्तब्ध बनाएको छ।

यसैबीच प्रहरी महानिरीक्षक कार्कीको अध्यक्षतामा बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका प्रतिपरिवार १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

नागरिकलाई सुरक्षित बनाउन अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी आफैँ विपद्को सिकार बनेको यो घटनाले प्राकृतिक विपद्का बेला उद्धारमा खटिने सुरक्षाकर्मीको जोखिम र उनीहरूको परिवारले भोगिरहेको पीडालाई समेत उजागर गरेको छ।