काठमाडौं, भदौ १९ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक तातोपानी नाका हुँदै नेपाल फर्किनुभएको छ।
तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहनुभएका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरलगायत विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रमा पुगेर चीनतर्फ सुरक्षित रहनुभएका नेपाली नागरिकलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो।
उहाँका अनुसार रसुवामा आएको बाढीका कारण चीनतर्फ फस्नुभएका ११४ नेपाली नागरिक तातोपानी नाका हुँदै नेपाल आइपुग्नुभएको हो। अहिले तातोपानी भन्सार नाका बन्द रहे पनि पर्यटकको आवतजावतका लागि नाका खुला रहेको छ।
नेपाल फर्किनुभएकामध्ये अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका नागरिक हुनुहुन्छ। रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी पास लिएर केरुङ पुग्नुभएका नेपाली नागरिक त्यहाँ अलपत्र पर्नुभएको थियो।
नेपाली महावाणिज्यदूतावासका अनुसार केरुङ क्षेत्रमा करिब एक हजार ६०० नेपाली नागरिक रहेको अनुमान गरिएको छ। तीमध्ये नेपाल फर्किनका लागि करिब ८०० जनाले नाम टिपाउनुभएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सीमावर्ती क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित हुनुभएको छ। चिनियाँ पक्षसँगको समन्वयमा उहाँहरूलाई वैकल्पिक नाकाबाट नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।














प्रतिक्रिया दिनुहोस्