जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०९:१०

त्रिशूली–३ ‘ए’ सुरुङभित्र मानिसको आवाज सुनिएको दाबी


काठमाडौं, भदौ १९ रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी नेपाली सेनाबाट प्राप्त भएको इन्जिनियर श्रीराम न्यौपानेले बताउनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु आशाजनक संकेत भएको उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।

उद्धार कार्यका क्रममा एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको न्यौपानेले बताउनुभएको छ। उद्धार टोलीले सुरुङभित्र रहेकाहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट समेत प्रतिक्रिया आएको उहाँले उल्लेख गर्नुभएको छ।

सुरुङभित्र फसेकाहरूको वास्तविक अवस्था र संख्या भने उद्धार टोलीले थप खोजी गरेपछि मात्र यकिन हुने बताइएको छ। अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा सक्रिय रहेको छ।