जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०९:१२

पेप्सीकोलामा मध्यराति भीषण आगलागी, सात दमकलको सहयोगमा नियन्त्रण


काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा गएराति भीषण आगलागी भएको छ।

पेप्सीकोला फुटबल ग्राउन्डनजिकै बाँसबाट बनेको एस ब्याम्बु कटेजमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ।

सञ्जीव बस्नेतले सञ्चालन गर्नुभएको कटेजमा लागेको आगो फैलिँदा छेउमै रहेको टिनको जस्ताले बनेको केकमान्डु पसलसमेत जलेर नष्ट भएको छ। उक्त पसल गोविन्दप्रसाद चौलागाईंले सञ्चालन गर्नुभएको थियो।

आगलागीका कारण पश्चिमतर्फ रहेको साढे तीनतले र उत्तरतर्फको तीनतले घरमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि प्रहरी नायब उपरीक्षक धनबहादुर बोहोराको नेतृत्वमा ५० जना प्रहरी परिचालन गरिएको थियो। स्थानीयवासी, अन्य सुरक्षा टोली तथा बौद्ध, जुद्ध वारुणयन्त्र, बालाजु, भक्तपुर, ललितपुर र विमानस्थलबाट ल्याइएका ७ वटा दमकल, फायर फाइटर तथा २ वटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार आगलागी बिहान २ बजेर ५० मिनेटमा पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनामा भएको भौतिक क्षतिको विवरण संकलन भइरहेको छ।