जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०९:२८

रसुवा विपत्तिबारे विश्व समुदायलाई जानकारी गराउन प्रधानमन्त्री शाह राष्ट्रसंघीय महासभामा सहभागी हुने


काठमाडौं, भदौ १९ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे विश्व समुदायलाई जानकारी गराउन प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुने भएको छ।

प्रधानमन्त्री शाह अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने तयारी भएको उच्च स्रोतले जनाएको छ। उहाँसँगै परराष्ट्रमन्त्री शिशिर खनालसहितको सानो टोली न्यूयोर्क जाने तयारी छ।

यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन स्वीकृति दिएको थियो। प्रधानमन्त्री शाहको भ्रमण तय भएपछि भ्रमणको तयारी अघि बढाउन परराष्ट्रमन्त्री खनालले मन्त्रालयको टोली तथा न्यूयोर्कस्थित नेपाली नियोगलाई निर्देशन दिनुभएको बताइएको छ।

पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको बाढीलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको क्षति र जोखिम प्रस्तुत गर्नुपर्ने विषयमा उच्च तहमा छलफल भएको थियो। सोही क्रममा प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर जलवायु न्याय र क्षतिपूर्तिको विषय उठाउन सकारात्मक हुनुभएको बताइएको छ।

संयुक्त राष्ट्रसंघको महासभा सेप्टेम्बर ८ देखि सुरु हुने र प्रधानमन्त्री शाह सेप्टेम्बरको तेस्रो साता न्यूयोर्क जाने तयारी रहेको स्रोतले जनाएको छ।

यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्री तथा विभिन्न क्षेत्रका विज्ञसँग गरेको छलफलमा पनि प्रधानमन्त्री शाहले महासभामा प्रत्यक्ष सहभागी भएर जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायलाई जानकारी गराउनुपर्ने सुझाव आएको थियो।

उक्त छलफलमा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि संयुक्त राष्ट्रसंघको ‘क्लाइमेट चेन्ज : फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ अन्तर्गत सहयोग माग गर्दै पत्र पठाइएको जानकारी दिनुभएको थियो। पत्र अर्थ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा पठाएका थिए।

प्रधानमन्त्री शाहले यसअघि संसद्मा सम्बोधनका क्रममा समेत भोटेकोशी बाढी र जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने बताउनुभएको थियो। पछिल्लो विपत्तिको मुख्य कारण जलवायु परिवर्तनसँग जोडिएको विषयमा जलवायु विज्ञहरूले समेत अध्ययन र विश्लेषण गरिरहेका छन्।