जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०९:४६

संखुवासभामा गोली हानेर शिक्षकको हत्या


संखुवासभा, भदौ १९। संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ।

मकालु–१ स्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको भरुवा बन्दुक प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रहरीका अनुसार राईलाई गएराति करिब ७ बजे विद्यालय नजिकै गोली प्रहार गरिएको थियो। खाना खाएर हात धुन बाहिर निस्कनुभएका राईमाथि गोली प्रहार भएको र बन्दुकको आवाजसँगै उहाँ ढल्नुभएको विद्यालयकी शिक्षिका टिकामाया राईले बताउनुभएको प्रहरीले जनाएको छ।

गोली लागेर राईको देब्रे कोखामा चोट लागेको थियो। घटनापछि उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

शिक्षकमाथि कसले र किन गोली प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली घटनास्थलतर्फ गएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।