जनता टाइम्स

२० भाद्र २०८३, शनिबार ०८:२४

उपत्यका बाहिर बोटलिङ गरेर काठमाडौंमा एलपी ग्यास पठाइँदै


काठमाडौं, भदौ २० पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव कम गर्न उपत्यका बाहिरका उद्योगबाट ग्यास बोटलिङ गरी राजधानी ल्याउन थालिएको छ।

नेपाल आयल निगमले उपत्यका बाहिर ग्यास बोटलिङ गरी सिलिण्डर काठमाडौं ल्याउन अनुमति दिएपछि ग्यास उद्योगीहरूले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति बढाएका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौंमा रहेका खाली सिलिण्डर ट्रकमार्फत चितवन, मकवानपुर, नवलपरासीलगायतका क्षेत्रमा रहेका उद्योगमा पुर्‍याएर ग्यास भर्ने र भरिएका सिलिण्डर पुनः काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।

चितवनस्थित नेपाल ग्यास गण्डकीमा काठमाडौंका सिलिण्डर बोटलिङ भइरहेको छ। त्यस्तै बाबा ग्यासले श्री ग्यासका सिलिण्डर भरेर पठाउन थालेको छ भने साईबाबा, जानकी, साहारा, चण्डी, सगरमाथा, लोकप्रिय, सुपर र तारा ग्यासलगायतका उद्योगले पनि राजधानी बाहिरबाट बोटलिङ गरी आपूर्ति गरिरहेका छन्।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिण्डर ग्यास आवश्यक पर्नेमा अहिले माग उल्लेख्य बढेको व्यवसायीहरूले बताएका छन्। उपत्यका बाहिरका उद्योगमा दुई सिफ्टमा ग्यास भर्ने काम भइरहेको छ।

ग्यास उद्योग संघका अनुसार नेपालका ५८ वटा ग्यास उद्योगले आपूर्ति गर्ने कुल ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यकामा खपत हुन्छ। पछिल्लो समय भारतबाट पनि पर्याप्त मात्रामा एलपी ग्यास आयात भइरहेकाले दीर्घकालीन अभाव हुने अवस्था नरहेको उद्योगीहरूको दाबी छ।

यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशनले पनि निजी ग्यास उद्योगसँग सहकार्य गरी आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउन थालेको छ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि धादिङको जुगेखोलास्थित साल्ट ट्रेडिङको एलपीजी प्लान्टमा बुलेट ल्याउन कठिन भएपछि मनोज र बाबा ग्यासका प्लान्टबाट एसटीसीका खाली सिलिण्डरमा ग्यास भर्ने व्यवस्था गरिएको हो।

कर्पोरेशनले उपभोक्तालाई ग्यास अभाव हुन नदिन कुपन प्रणालीमार्फत बिक्री–वितरणलाई समेत व्यवस्थित गरिरहेको जनाएको छ।

व्यवसायीहरूले भने संकटका बेला उपभोक्तालाई आवश्यक मात्रामा ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नराख्न आग्रह गरेका छन्।