जनता टाइम्स

२० भाद्र २०८३, शनिबार ०८:३७

एनआरएनए मध्यपूर्वद्वारा बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग


काठमाडौं, २० भदौ । भोटेकोशी हुँदै रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले करिब १ करोड रुपैयाँ राहत रकम संकलन गरेको छ।

कतार, यूएई, साउदी अरेबिया, बहराइन, कुवेत, इराक र ओमानलगायत मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली तथा एनआरएनए अभियन्ताबाट रकम संकलन गरिएको हो।

एनआरएनए मध्यपूर्वका संयोजक रमेश श्रेष्ठका अनुसार संकलित रकममध्ये ९८ लाख ६८ हजार रुपैयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)लाई हस्तान्तरण गरिएको छ। आईसीसीले विश्वभरबाट संकलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

बाढी गएको भोलिपल्टै एनआरएनए मध्यपूर्वका संयोजक श्रेष्ठसहित १० जनाको टोली राहत सामग्री लिएर त्रिशूली पुगेको थियो। टोलीले बाढी प्रभावित क्षेत्रको अवस्था निकै भयावह रहेको बताएपछि मध्यपूर्वमा रहेका नेपालीसँग राहतका लागि आर्थिक सहयोगको आह्वान गरिएको थियो।

एनआरएनए एनसीसी बहराइनका अध्यक्ष राजुकुमार श्रेष्ठले ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकोमा २५ लाख रुपैयाँ प्रदान गर्नुभएको छ। त्यस्तै, एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीमबहादुर मल्लले ११ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।

साउदी अरेबियाका अध्यक्ष उमेश भट्टराईले ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ भने थप रकमसमेत सहयोग गर्ने बताउनुभएको छ।

एनआरएनए मध्यपूर्वले अझै राहत रकम संकलन जारी रहेको जनाएको छ। संयोजक श्रेष्ठले राष्ट्रिय विपद्को समयमा प्रवासमा रहेका नेपालीबीच सहयोग र एकताको भावना अझ बलियो बनेको बताउनुभएको छ।